काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफूलाई लागेको कुरा दाँयाबाँया नसोची सिधै बोलिहाल्छन्। धेरै भूमिका नबाँधी ठाडै विषयमा प्रवेश गर्ने र भन्नुपर्ने कुरा फ्याट्ट भनिहाल्ने देउवाको शैली हो। पछिल्लो समय एमसीसी र पाँचदलीय गठबन्धनमा उत्पन्न विवादबारे हुने छलफलहरुमा पनि देउवाको प्रष्ट भनाइ आउने गरेको छ, एमसीसी पेश गरौँ, गठबन्धन पनि कायम राखौँ।
एमसीसीको संसदीय अनुमोदनलाई लिएर गठबन्धनभित्रको विवादले राजनीतिक ध्रुवीकरण बढेका बेला प्रधानमन्त्री देउवाले बिहिबार विभिन्न पक्ष र नेताहरुसँग छलफल गरे। बिहिबार नै क्याबिनेट बैठक पनि डाके’। क्याबिनेटमा राजनीतिक विषयमा केही नबोलेका देउवाले लगत्तै केही मन्त्रीहरुलाई बोलाएर छलफल गरे। मन्त्रीहरुसँगको कुराकानीमा पनि सदाझैँ उनले प्रष्टसँग एक वाक्यमा भने, ‘एमसीसी संसदमा इन्डोर्स गरेर जाऊँ।१’
एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी ओलीका पालामा एमसीसी गिजोलिएको र त्यसलाई पार लगाउन अहिले सकस परिरहेको पनि बताएका थिए। ‘मलाई त थाहा पनि थिएन, एमसीसी संसदमा लैजानुपर्ने बनाइएको रहेछ। म त यो होल प्रोसेसमा आउटअफ रिङ्गमा छु। क-कसले के-के गरे, अन्तिममा मेरो टाउकामा आयो’, सहभागी एक मन्त्रीले देउवाको कुरा सुनाउँदै भने ‘यो पार्लियामेन्टमा आउने इश्यु नै थिएन, ओलीले घुसाए। अहिले मलाई अप्ठेरो पारेका छन्।’
एमसीसीलाई आन्तरिक राजनीतिको दाउपेचको मामला बनाएकोमा प्रधानमन्त्री देउवा गठबन्धनका अन्य दल र नेतासंग पनि सन्तुष्ट नदेखिएको ती मन्त्रीले बताए। अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा संवेदनशील हुनुपर्नेमा उनको जोड थियो। कमिटमेन्ट गरिसकेपछि त्यो पूरा गर्नु आफ्नो दायित्व हुने भन्दै देउवाले त्यसैकारण अहिले आफू अप्ठेरोमा परेको गुनासो मन्त्रीहरुलाई सुनाए। ‘पास(फेल सदनको कुरा भयो, तर डेमोक्रेटिक प्रोसेसमा लैजानुपर्छ भन्नेमा उनी प्रष्ट छन्’, देउवाको कुरा सुनाउँदै मन्त्रीले भने।
बताइए अनुसार कुराकानीका क्रममा देउवाले प्रचण्डको भूमिकाप्रति पनि असन्तुष्टि जनाए। ‘पहिले नै पास गर्न मन थिएन भने पाँच महिनाको समय किन मागेको रु म पास गर्दिन भनेर त्यतिबेलै पोजिसन क्लियर गरेको भए हुन्थ्यो। अहिले आएर अर्को कुरा गर्नु उहाँको ताल ठीक भएन’ देउवाको भनाइ उद्धृत गर्दै सहभागी मन्त्रीले भने।
तथापि, देउवाले गठबन्धनप्रति आफू पूरै प्रतिवध्द रहेको बताएका छन्। ‘म गठबन्धनप्रति कमिटेड छु, केपी ओलीले यो सरकारलाई समर्थन गर्दैनन्, म उनको सरकारमा जाने कुरा पनि भएन। उनीसंग गठबन्धन हुँदैन। तर,एमसीसी पास गर्न पर्यो’, देउवाको भनाइ थियो। तर, छलफलका क्रममा प्रधानमन्त्रीले मन्त्रीहरुलाई कुनै दबाब नदिएको उनले बताए।
कुराकानीको अन्त्य गर्दै प्रधानमन्त्रीले भनेका थिए, ‘प्रचण्ड र माधवजीको कुरा उतिबेला पनि भोकल्ली आएको थिएन ठीक छ, तर केपी ओलीले त ल्याएको हो नि। म ओलीलाई भेट्छु अनि त्यसपछि तपाईंहरुलाई कन्फ्युजन गर्दिन।’ त्यत्ति भनेर निस्किएका देउवा साँझ पत्नीसहित बालकोट पुगेका थिए। जनआस्था साप्ताहिकबाट साभार।