काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ।
सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी हुन्।
यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे। यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए।
‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन। संसद्मा छलफल गर्न पाउनुपर्छ। तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ। संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ।’ जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ।