बेलायतमा शक्तिशाली आँधीका कारण जनजीवन अस्तव्यस्त



लन्डन। बेलायतमा शुक्रबार आएको तीन दशकयताकै ‘यूनिस’ नामको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित बनेको छ। आँधीका कारण तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ। मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन्।

१ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र नराम्रोसँग प्रभावित भएका छन्। आँधीका कारण सयौँको सङ्ख्यामा उडानहरू तथा रेल सेवाहरू रद्द भएका छन्।

पूर्वी लण्डनमा रहेको विश्वप्रशिद्ध ओटु एरीना भवनको छाना हावाले क्षतविक्षत बनाएको थियो। मिलिनियम डोमको रूपमा रहेको उक्त भवन सन् २००० खोलिएको थियो। सन् २००७ मा ‘ओटु’ नामकरण गरिएको सो भवनमा ठू-ठूला कन्सर्ट तथा स्पोर्टस इभेन्टको आयोजना हुने गरेको थियो।

त्यहाँ सिनेमा लगायत अन्य थुप्रै पसल तथा रेष्टुरेन्टहरु सञ्चालन हुँदै आएका छन्। उक्त भवनका आर्किटेक्ट रिचार्ड रोजरको गत डिसेम्बरमा निधन भएको थियो।