कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी २८ जनाले नेकपा (एकीकृत) समाजवादी) मा प्रवेश गरेका छन्।
शुक्रबार पार्टीको गाउँ कमिटीले आयोजना गरेको एक कार्यक्रममा एमाले परित्याग गरि वडा नम्बर ५ बाट वीरबहादुर सहकारी, आउँसे सहकारी, वडा नम्बर ३ बाट नेपाली कांग्रेस परित्याग गरि लोकेन्द्र बिष्टले समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।
त्यस्तै वडा नं ९ बाट नेपाली कांग्रेसका नेता मानबहादुर रावल, सविना बोगटी रावल, वडा नम्बर ३ का नेपाली कांग्रेसका नेता अबिलाल बिष्ट र इशरा बिक गरि विभिन्न पार्टी परित्याग गरी २८ जना नेता कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको गाउँ कमिटी सचिव प्रेम बिष्टले जानकारी दिए।
नरहरिनाथ गाउँ कमिटी उपाध्यक्ष कर्ण बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य धीरबहादुर बिष्ट प्रमुख अतिथिका रुपमा उपस्थित थिए। त्यस्तै बिष्टसहित जिल्ला कमिटी उपसचिव डबल बोगटी, जिल्ला कमिटी सचिवालय सदस्य गोर्खबहादुर बटाला, धनबहादुर बिष्ट, हर्कबहादुर बुढा, अम्बप्रसाद उपाध्याय, अमरबहादुर सहकारी, रतन बहादुर शाही, हिरा बटाला, दानबहादुर सार्की, कबिराज बिष्ट युवा संघका केन्द्रीय सचिवालय सदस्य राजेन्द्र बिष्टलगायतका नेताहरुले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए।
त्यस्तै नेपाल बुद्धिजीवी परिषद समाजवादीका केन्द्रीय सदस्य मन बहादुर बुढा, गाउँ कमिटी उपाध्यक्ष कुलमान बटाला, प्रगतिशील शिक्षक संगठन नरहरिनाथ गाउँ कमिटी अध्यक्ष गजेन्द्र बुढा, प्रगतिशील शिक्षक संगठनका नरहरिनाथ गाउँ कमिटी सल्लाहकार संयोजक गणेश कुमार शाहीलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा नम्बर १ देखि ९ सम्मका वडा कमिटीका अध्यक्षहरुले राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए।
गापा अध्यक्षसमेत रहेका नेता बिष्टले स्थानीय तहको निर्वाचनमा डटेर लाग्न नेता कार्यकताहरुलाइ निर्देशन दिएका छन्। उनले भनेका छन्, ‘हाम्रो पार्टीको जुनसुकै उम्मेदवार हुन सक्छ। हाम्रो पार्टीमा तमाम योग्य नेताहरु हुनुहुन्छ। कुनै पनि हालतमा हाम्रा उम्मेदारलाई जनताले विजयी गराउनु हुनेछ। हाम्रो पार्टीलाई मत दिनु भनेको संघीयताको रक्षा गर्नु हो। संविधानको कार्यान्वय गर्नका निम्ति हो। नेपाली समाजलाई समाजवादी यात्रामा लैजानका निम्ति हो। हाम्रो गाउँपालिकाका सचेत जनताहरु, पीछडिएका वर्ग समूदाय र पछाडि पारिएका जनताहरुले हाम्रो पार्टीलाई जिताउनु हुनेछ।’
त्यस्तै अध्यक्ष बिष्टले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले यथास्थितिमा पास गर्न नहुनेमा जोड दिएका छन्। कार्यक्रमका विशेष अतिथिका रुपमा उपस्थित उपसचिव बोगटीले नेकपा एमालेले एमसीसीका बारेमा द्वत्य चरित्र देखाएको आरोप लगाएका छन्।