मृत्युमा पनि देखासिकी, छ सय मिटर बाटको प्रयोग



जाजरकोट। नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गरे। बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उनले बताए।

सोही ठाउँका पदमबहादुर खत्रीले पनि आमाको मृत्युहुँदा ४० थान कपडा अथवा लामो ‘बाट’ हालेर दाहसंस्कार गरे। सिंह र खत्री मात्र होइन, अधिकांश जाजरकोटीले वर्षौंदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन्।

शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, नीलो, रातो र पहेँलो रङको कपडा कम्तीमा तीन थानदेखि अधिकतम एक सय थानसम्म प्रयोग गरिँदै आएको छ। यसरी अन्त्येष्टिका लागि घरदेखि घाटसम्म पु९याउँदा कपडामा नै लाखभन्दा बढी रुपियाँ खर्च हुने बताइएको छ।

अन्त्येष्टिमा कपडाको प्रयोगकै आधारमा गाउँघरमा धनी र गरिब भनेर समाजले छुट्याउने गरेको ८५ वर्षीय कर्णबहादुर रावलले बताए। इज्जत र प्रतिष्ठासँग जोडेर अरूलाई देखाउन साहुसँग ऋण काढेर भए पनि लामो ‘बाट’ हाल्ने होडबाजी चल्दै आएको उनले जनाए। यो समाचार गोरखापत्र दैनिकमा छ।