गठबन्धन बैठकमा देउवाले ओलीसँगको भेटवार्ताको बिफ्रिङ गर्ने



काठमाडौँ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने सन्दर्भमा सत्ता गठबन्धनको आज पनि बस्दै छ।

बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ। विहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने नगर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन्। प्रतिनिधि सभाको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छ। गठबन्धनमा सहमति भएपछि आजै बस्न कार्यव्यवस्था परामर्श समितिले एमसीसी टेबल गर्ने एजेण्डा तय गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले बताए।

सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी कुनै पनि हालतमा पास गर्ने पक्षमा उभिएको छ भने प्रमुख साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा संसदमा टेबल गर्न समेत मानिरहेका छैनन्।

बिहीबारको गठबन्धनमा बैठकमा उनीहरुले एमसीसीबारे आ-आफ्नो अडानमा उभिएपछि सहमति हुन सकेन। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए।

राति ८ः ५० मा बालकोट पुगेका प्रधानमन्त्री देउवा र ओलीबीच १०: १५ बजेसम्म छलफल भएको थियो। उनीहरुबीच भएको छलफल दुबै पक्षले खुलाउन नचाहेको अवस्था छ। आज बस्ने गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँगको भेटवार्ताको बिफ्रिङ पनि गर्ने बुझिएको छ।