काठमाडौँ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले करिब साढे ६४ अर्ब रुपैयाँ बराबर ऋण तिरेको छ ।
आन्तरिक तथा बाह्य ऋणको साँवा र ब्याजका रुपमा उक्त रकम तिरिएको अर्थ मन्त्रालयले जनाएको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा सरकारको ऋण १७ खर्ब २३ अर्ब रुपैयाँ बराबर रहेको छ।
यस्तो सार्वजनिक ऋणमध्ये पुस समान्तसम्ममा साँवा र ब्याजका रुपमा ६४ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी भएको हो । यसरी तिरिएको रकममध्ये आन्तरिक ऋणतर्फ ४८ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी भएको अर्थ मन्त्रालयले जनाएको छ । जसमा साँवातर्फ २९ अर्ब र ब्याजतर्फ १९ अर्ब ८१ करोड रुपैयाँ तिरिएको छ।
भुक्तानी गरिएको आन्तरिक ऋणको साँवा रकममध्ये २७ अर्ब भदौमा र २ अर्ब रुपैयाँ असोजमा भुक्तानी भएको थियो । त्यस्तै बाह्य ऋणको साँवा र ब्याजका रुपमा १५ अर्ब ५३ रुपैयाँ सरकारले तिरेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा सरकारको आन्तरिक ऋण ७ खर्ब ७३ अर्ब ९४ करोड १७ लाख बराबर रहेको छ। त्यस्तै, सोही अवधिमा बाह्य ऋण ९ खर्ब ४९ अर्ब २३ करोड ६७ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा वैदेशिक ऋण बढेपनि समग्रमा भने सरकारको ऋण रकम घटेको छ । गत आर्थिक वर्ष २०७७/७८ सकिँदासम्म नेपालको कुल सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबर थियो । गत असोज मसान्तसम्ममा यो घटेर १७ खर्ब २३ अर्ब १७ करोड ८४ लाख रुपैयाँ कायम भएको देखिन्छ। – कान्तिपुरबाट साभार