‘एमसीसीबारे संसदमा छलफल हुनुपर्छ’



काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रतिनिधिसभामा छलफल हुनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वूपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताएका हुन्। ‘यत्रो महत्वपूर्ण राष्ट्रिय विषयमा नेपाली जनताबाट निर्वाचित हामी जनप्रतिनिधिले एमसीसीका ती दफाहरु राख्न त पाउनुपर्‍यो नि, जनताले संसदमार्फत थाहा पाउनुपर्‍यो नि’ उनले भने।

नेता रावलले कतै संसद अवरोधको नाममा होहल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन भनेर आफूले विगतमा पनि प्रश्न उठाएको बताए । हाल रावलकै दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ। उनले संसद अवरोधकै बीच सरकारले ल्याएका कतिपय प्रस्ताव पारित गर्ने तर महत्वपूर्ण विषयमा छलफल नगरी पारित गर्ने षड्यन्त्र भएको बताए।

‘नेपाल सरकारका कतिपय कुराहरु खुरुखुरु पारित भएर जाने। राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतासँग जोडिएको यत्रो संवेदनशील विषय, नेपाली जनताको सरोकारको विषयमा छलफल गर्न नपाउनु उचित होइन’ उनले भने।

एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै नेता रावलले आफूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिए। ‘मैले भनेको कुरा यो दफामा छैन भन्न कसैले सक्नुभएको छ, शेरबहादुरजीले भन्न सक्नुभएको छ, उहाँका प्रवक्ता र महाप्रवक्ताले भन्न सक्नुभएको छ रु’ उनले भने।