काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनालले नेपाली जनतालाई गुमराहमा राखेर एमसीसी पास गर्न नहुने बताएका छन्। नेपाली जनतालाई थाहै नदिइकन र एमसीसीका दस्तावेज अध्ययन नगरिकनै सम्झौता पास गर्न खोजिनु उचित नहुने उनले बताए।
बुधबार संसद् बैठकपछि नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘नेपाली जनतालाई थाहा पनि नदिइकन, गुमराहमा राखेर, ती दस्तावेज अध्ययन पनि नगरिकन एमसीसी सम्झौता गरिनु पनि हुँदैनथ्यो । यो राष्ट्र हित विपरीत छ,’ नेता खनालले बताएका थिए।
सरकारको नेतृत्वमा रहेका नेताहरूलाई लक्षित गर्दै के गर्दा राष्ट्रहित हुन्छ भन्ने विषय उनीहरूले नबुझेको उनको भनाइ थियो। खनालसहित नेकपा समाजवादीका नेताहरूले एमसीसी परिमार्जन गर्नुपर्ने वा अहिलेकै अवस्थामा पारित गर्न नहुने अडान राख्दैआएका छन्। यस्तै सत्ता गठबन्धनमा सामेल माओवादी केन्द्रका नेताहरूले पनि एमसीसी पास गर्नुअघि राष्ट्रिय सहमति आवश्यक भन्दै आएका छन्।