काठमाडौँ। विकसित राजनीतिक परिस्थितिलाई कसरी लैजाने भन्ने विषयमा नेकपा एमाले यतिबेला विभिन्न रणनीति तयार पार्नमा व्यस्त देखिन्छ।
यसै क्रममा संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार एमालेले संसदीय दलको बैठक राखेको थियो। उक्त बैठकमा नेतृत्वले खाली कागजमा हस्ताक्षेर गर्न निर्देशन दिएको थियो। तर, एमालेका पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्। बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो। ती कागजमा हस्ताक्षर गर्न भीम रावलले लिखितरूपमा नै असहमति राखेका थिए।
अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। चारवटा फाइलमा छुट्टाछुट्टै हस्ताक्षर गराउन खाली कागज ल्याइएको थियो। रावलले भने, ‘के प्रयोजनका लागि हो भन्ने थाहा नपाई हस्ताक्षर गरिएन।’
एमाले प्रमुख सचेतक विशाल भट्टराईले त्यसरी हस्ताक्षर गराइएको र नेतृत्वले सोच विचार गरेर त्यसको प्रयोग गर्ने सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए। उनले न्यायाधीशहरूलाई महाभियोग लगाउनेलगायतका विषयमा छलफल भएको र त्यसमा विचार गरेर निर्णय हुने बताएका छन्।