१७ हजार शिक्षकका लागि साढे दुई लाखको आवेदन



काठमाडौँ। आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा १७ हजार ४ सय ५५ स्थायी शिक्षक नियुक्ति गर्न विज्ञापन खुलाएको छ । त्यसमा प्रतिस्पर्धा गर्न अस्थायी अध्यापन अनुमतिपत्र लिएका उम्मेदवारहरूले दरखास्त दिएका हुन् ।

आवेदन दिनेमा केही विषयमा अनुमतिपत्र प्राप्त नगरेका पनि छन् । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले परीक्षामा प्रतिस्पर्धा गर्न उत्साहजनक रूपमा दरखास्त परेको जनाए । ‘माग संख्याको तुलनामा लोक सेवा आयोगमा भन्दा पनि चर्को प्रतिस्पर्धा हुने देखियो,’ उनले भने ।

दरखास्तहरूको रुजु गरेर कार्यतालिकाअनुसार चैतमा परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ । त्यसका लागि आचारसंहिता, प्रश्नपत्र निर्माणलगायत तयारीको काम भइरहेको छ । माविको चैत १५, निमावि चैत १७ र प्राविको चैत १९ मा परीक्षा सञ्चालन गर्ने तालिका छ । तीनवटै तहमा प्रदेश १ बाट सबैभन्दा बढी दरखास्त परेको छ । प्राविमा १ लाख १३ हजार ३ सय ९५ जनाले आवेदन दिएका छन् । उक्त तहमा १३ हजार २ सय ९७ स्थायी शिक्षकका लागि विज्ञापन खुलाइएको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले बताए ।

प्राविमा प्रदेश १ मा २३ हजार ४ सय ७८ र सबैभन्दा कम कर्णालीमा ९ हजार २ सय ७७ जनाले दरखास्त दिएका छन् । निमाविमा देशभरबाट ८५ हजार ६ सय ५४ जनाको आवेदन परेको छ । यसमा २ हजार ६ सय ६ शिक्षक पदका लागि विज्ञापन खोलिएको छ ।

निमाविमा पनि कर्णालीबाट सबैभन्दा कम र प्रदेश १ बाट सबैभन्दा धेरै दरखास्त परेको उनले जनाए । कर्णालीमा ५ हजार १ सय ९९ र प्रदेश १ मा २० हजार ९ सय २२ जनाले फारम भरेका छन् । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।