काठमाडौँ। ‘भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा माया प्रेमका गीतहरू बजारमा भित्रिने क्रम बढ्न थालेको छ। यस्तैमा भ्यालेन्टाइनको अवसर पारेर गजलकार चन्द्र प्रसाई ‘परिष्कृत’ को नयाँ रोमान्टिक गीत ‘माया गर्न मन छ’ सार्वजनिक गरिएको छ। प्रविन बेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। गीतमा संगीत संयोजन फणीन्द्र राईको छ।
गीतमा प्रेमीले प्रेमिकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन्। रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा फिल्म मंगलमका जोडी अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोका निर्माता तेजी प्रसाई हुन्। भिडियोमा हरि हुमागाईंको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ । गीत गीतकार प्रसाइकै च्यानल प्रसाइसन इन्टरटेन्मेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो।
एक दशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिस्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् । चितवन स्थायी घर भएका प्रसाई सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे। गीत, कविता र गजल समेत लेखन गर्दै आएका प्रसाई पछिल्लो समय अमेरिका रहँदै आएका छन्।