दार्चुलामा भेटियो भारतीय डिभाइसयुक्त शंकास्पद बेलुन



काठमाडौँ। दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ। राति करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए।

आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्रीजडित डिभाइस पाइएको उनले बताए। विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन ओटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिएको छ।

उक्त मोबाइल नम्बरमा फोन गर्दा उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागको रहेको जानकारी प्राप्त भएको छ। भारतीय मौसम विज्ञान विभागले वायुमण्डलको डाटा संकलनका लागि बेलुन बाँधेर उक्त डिभाइस उडाउने गरेको फोनका जवाफ मिलेको उनले बताए।

नौगाड गाउँपालिकाका योजना शाखा अधिकृत नरेन्द्र ठगुन्ना, विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण सिंह ठगुन्ना लगायतको टोली पनि उक्त स्थानमा पुगेको थियो। उक्त विषयमा बुझ्न प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए। यसअघि पनि दार्चुलाको आकाशमा यस्ता शंकास्पद वस्तुहरू फेला पर्ने गरेका छन्। – न्युज कारखाना