काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनको खिलापमा नउभिन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टी कार्यालय सानेपामा बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले गठबन्धनको विकल्पबारे धारणा नराख्न आग्रह गरेका हुन्। गठबन्धनबारे पार्टीको संस्थागत निर्णयविरुद्ध नउभिन गृहमन्त्री खाणको चेतावनी छ।
पार्टीले गठबन्धनबारे अर्को संस्थागत निर्णय नगरेसम्म नेताहरुले गठबन्धनको विकल्पबारे धारणा राख्नु हुँदैन, उनले भने, ‘यसले कार्यकर्ता, आम जनता र गठबन्धनमा सहभागी दलका नेता तथा कार्यकर्तालाई भ्रम सिर्जना गर्छ। गठबन्धनको खिलापमा हामीले धारणा राख्नु हुँदैन।’
पार्टीको केन्द्रीय कार्यसमिति बैठकले संस्थागत निर्णय गरेर अहिलेको गठबन्धन निर्माण गरिएको उनले बैठकमा स्मरण गराए। गठबन्धन राष्ट्रिय आवश्यकता भएरै संविधान, लोकतन्त्र र विधिको शासन रक्षाका लागि निर्माण भएको उनको भनाइ थियो।
‘त्यसकारण नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकबाट गठबन्धनबारे छलफल, समीक्षा र पुनर्विचार गर्न सकिन्छ’ गृहमन्त्री खाणले भने, ‘तर केन्द्रीय कार्यसमितिबाट वर्तमान गठबन्धनबारे अर्को निर्णय नहुँदासम्म पार्टीको संस्थागत निर्णयका पक्षमा उभिनुपर्छ। गठबन्धन बनाउने निर्णय सर्वसम्मत भएको थियो।’