स्थानीय तहको निर्वाचन नमूना बनाऔँ: निर्वाचन आयोग



काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई प्रभावकारीरूपमा सम्पन्न गर्नका लागि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँगको छलफल उनले सो कुरा बताएका हुन्।

निर्वाचनसम्बन्धी सूचना, समाचार र विचारलाई अहिले भइरहेको नियमित प्रणालीबाट प्रयोग बढाउन, वार्षिक बजेट र कार्यक्रमबाटै निर्वाचनमुखी कार्यक्रम गर्न सुझाव दिँदै आयोगले निर्वाचनलाई लक्षित गरी मतदाता प्रोत्साहन हुने र निर्वाचनको वातावरण बनाउने कार्यक्रम गर्न आवश्यक पर्ने वित्तीय पक्षबारे जानकारी माग गरेको छ।

स्थानीय तहको निर्वाचन राजनीतिक दृष्टिकोणबाट सवल संयन्त्र निर्माण गर्ने अवसरका रूपमा रहेको छ। निर्वाचनका लागि आयोग बजेट तर्जूमा गर्ने चरणमा काम गरिरहेको छ। कानून र स्थानीय तहको संरचना अनुसार स्थानीय तहमा प्रत्यक्ष निर्वाचित ३५ हजार २२१ प्रतिनिधि आगामी निर्वाचनबाट निर्वाचित भएर आउने छन्। स्थानीय तहको सभाका लागि थप चार हजार ९६८ जनप्रतिनिधिको पनि चयन हुनेछ। आगामी वैशाख ३० गते स्थानीय चुनाव गर्ने सरकारी निर्णय छ।