फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न एमालेको अनुरोध



काठमाडौँ। प्रमुख विपक्षी दल नेकपा एमालेले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

त्यस दिन एमालेले विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरेको छ। ‘बैठक जुध्यो र त्यस दिनको प्रतिनिधिसभा बैठक अर्को दिन सारिदिनका लागि आग्रह गरेको छु’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अनलाइनखबरसंग भने।

प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष, उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसदहरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक स्थगित गर्न भनिएको उनले बताए। पछिल्लो समय प्रतिनिधिसभाको बैठक निरन्तर रुपमा स्थगित हुँदै आएको छ। पुस ७ यता मात्रै प्रतिनिधिसभाको बैठक निरन्तर ६ पटक स्थगित भइसकेको छ।

पुस १८, पुस २२, पुस २८, माघ ३ गते, माघ १६ र माघ २६ गते बोलाइएको बैठक स्थागित भएका थिए। कहिले राजनीतिक दलहरुले आग्रहमा त कहिले कोरोना भाइरसको महामारीलाई देखाएर संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गर्दै आएको छ। एमालेले २३ भदौदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।