निर्वाचन लोकतन्त्रको अक्सिजन हो। लोकतन्त्रको अनिवार्य सर्तको रुपमा रहेको निर्वाचनलाई विश्वका देशहरुले अंगाल्दै आएका छन्। आवधिक वा पूर्ण निर्वाचन लोकतन्त्रलाई संस्थागत र विकास गर्ने महत्वपूर्ण तत्वका रुपमा लिइन्छ। जसका माध्ययमार्फत जनताले आफूमाथि शासन गर्ने जनप्रतिनिधि चयन गर्छन्। चुनिएका प्रतिनिधिहरुले जनताको अपेक्षा र लोकतन्त्रको पक्षमा काम गर्नुपर्ने निर्वाचनको सन्देश हो।
यति विराट अर्थ र सन्देश बोकेको राजनीतिक विषयका बारेमा नेपालीहरुले भने हल्का र घृणित नजरले हेर्न थालेका छन्। यो स्थिति कसरी आयो? जनताहरुले चुनावलाई मासुभातसँग किन तुलना गरि रहेका छन्? यस्ता प्रश्नका बारेमा राजनीतिक दल र ति दलका मुख्य नेतृत्वले सोच्ने बेला भएन र? अवश्य पनि गम्भीर र निर्मम भएर सोच्नुपर्ने बेला भईसक्यो। निर्वाचनलाई नेपालमा जसरी बदनियतपूर्ण तरिकाले सम्बोधन गर्न थालिएको छ, यो लोकतन्त्रको हित विपरित छ। लोकतन्त्रलाई यस्ता निच सोच र प्रवृत्तिले बलियो बनाउँदैन। जनताहरुले पनि निर्वाचन र राजनीतिलाई घृणाको नजरले हेर्नु हुँदैन। देशको शासन सत्ता र आम जनताको नेतृत्व राजनीतिले नै गर्ने हो। सबै नीतिको पनि मुलनीति नै राजनीति भएका कारण जनताले यसको उचित व्यवस्थापन, जनपक्षिय र लोकतन्त्रलाई सस्थागत बनाउनका लागि सक्दो भूमिका खेल्नुपर्ने हुन्छ।
निर्वाचन प्रणाली आफैमा कुरुप र भ्रष्ट छैन/हुँदैन। जनता र राजनीतिक दलहरुले गर्ने व्यवहारले निर्वाचन प्रणालीलाई नै गलत तरिकाले हेर्न थालिएको छ। निर्वाचनलाई मासुभातसँग तुलना गर्नु बिडम्बना हो। जनताले आफ्नो विवेकको प्रयोग गरेर आगामी निर्वाचनमा हाम्रालाई होईन, राम्रालाई रोज्ने हो भने भावि दिनका निर्वाचनलाई मासुभात खाने पर्वका रुपमा लिने दिन आउने छैनन्। आगामी निवार्चनलाई भड्कीलो र खर्चिलो बनाउनबाट जनताहरुले नै रोक्नुपर्छ। निर्वाचन आयोगले आफ्नो मापदण्ड सार्वजनिक गर्ला। त्योभन्दा पनि निर्वाचनलाई कम खर्चिलो र भ्रष्टिकरण हुनबाट जोगाउने खास जिम्मा जनताहरुको हो। नेताहरुको अतिरिक्त तडक भड्कमा सहभागि भएर जनताहरुले मासुभातसँग अमूल्य मत विक्रि गर्ने हो भने त्यो भन्दा ठूलो अपराध के हुन सक्छ? जनताले राजनीतिक दलका कार्यकर्तालाई अनुसाशनमा राख्ने हो भने र कार्यकर्ताहरुले नेतृत्वलाई ठिक ठाउँमा उभिनुहोस् भन्न सक्ने हो भने देशमा सुशासन कायम हुन्छ। कांग्रेसले भन्दै गरेको लोकतन्त्र र कम्युनिष्टहरुले भन्दै गरेको सामाजिक न्याय स्थिपित हुनेमा दुईमत नहोला।