एमसीसी मुद्दामा तीन दल तीनतिर



काठमाडौँ। एमसीसी मुद्दामा एकअर्कामाथि लगातार दबाब बनाउने रणनीति लिएर दाउपेचको राजनीति गरिरहेका प्रमुख तीन दलबीच संवादको थालनी भएको छ ।

आइतबार केही समयको अन्तरालमा सार्वजनिक भएका दुई पत्रले गठबन्धनमा रहेका दलहरूबीच थप अविश्वास पैदा भएको छ भने एमसीसी र संसद् अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षीसँग नयाँ चरणबाट वार्ता सुरु भएको छ। दलहरूबीचकै सहमतिमा एमसीसी संसद्मा पुर्‍याउने प्रधानमन्त्री देउवाको पछिल्लो रणनीति छ।

अमेरिकाले समयसीमा तोकेर एमसीसी टुंगो लगाउन दबाब दिएपछि अप्ठेरोमा परेका दलहरूले विकल्प खोजीका लागि संवाद थालेका हुन्। लगातार दुई पत्र सार्वजनिक भएपछि प्रमुख तीन दल तातेका छन्, आइतबार रातिसम्म छलफल जारी रहे। एमसीसी मुद्दा निर्णायक चरणतिर प्रवेश गरेपछि संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमाले पनि सत्ता गठबन्धनसँग संवादमा जोडिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार संसद् खोल्ने र एमसीसीलगायत मुद्दालाई अगाडि बढाउने विषयमा छलफल भए पनि सहमति जुटेको छैन। यद्यपि एक शीर्ष नेताका अनुसार दलहरूले ह्वीप नलगाई एमसीसी अनुमोदनका लागि अगाडि बढाउने सम्भावना छ। संसद् खुलाउन प्रधानमन्त्री आफैं र निकट नेताहरूमार्फत विभिन्न तहमा संवाद पनि अगाडि बढाएका छन्। यो समाचार कान्तिपुर दैनिकमा छ।