राजकीय सम्मानका साथ लता मंगेशकरको अन्त्येष्टि



काठमाडौँ। प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मुम्बईको शिवाजी पार्कमा आइतबार साँझ लताको पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो।

आफ्नो जादुमय आवाज र गायकीबाट विश्व चर्चित बनेकी लताको आइतबार बिहान ८ बजेर १२ मिनेटमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कोरोना संक्रमण र निमोनिया भएपछि २९ दिनदेखि उनको अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।

अन्त्येष्टि कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संगीतकर्मी, बलिउडकर्मी, सर्वसाधारणलगायत हजारौंको उपस्थिति थियो। उनको निधनको शोकमा भारत सरकारले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको छ।

दुई दिनसम्म सबै सरकारी, कूटनीतिक तथा महत्वपूर्ण कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दौरमा जन्मिएकी लताले आफ्नो जीवनकालमा विभिन्न ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्।