सुर्खेत। कर्णाली प्रदेश प्रहरी कार्यालयले घटना भएको ५ मिनेटभित्रै घटनास्थल पुग्ने अभियान सुरु गरेको छ। अभियानपछि कर्णालीका सबै जिल्लामा प्रहरी सक्रियता बढेको छ । प्रहरी सक्रियता बढ्दै गएपछि गत वर्षभन्दा आपराधिक घटना घटेका छन्।
पछिल्लो समय जोखिमपूर्ण क्षेत्रमा प्रहरी सक्रियता बढाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।‘घटना घटेको क्षेत्रमा बाटोको समयबाहेक ५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको छ,’ प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले भने, ‘जुनसुकै घटनामा पनि तुरुन्त एक्सन लिने अभियान चलाएका छौं।’
भौगोलिक विकटता भएका ठाउँहरूमा पनि नियमित गस्ती, पेट्रालिङ, गुनुसा सुनुवाइ, समुदाय–प्रहरी साझेदारीलगायतमा जोड दिइएको उनले बताए । प्रहरीको जागरुकताले गत वर्ष यही समयसम्म १ सय २८ जघन्य अपराधका मुद्दा दर्ता भएकोमा चालु आवको ६ महिनामा १ सय १८ घटना मात्र भएका छन् । मुद्दा फर्स्योटको संख्या गत वर्षभन्दा ७ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । गत वर्ष ७६ मुद्दा फर्स्योट भएकामा यो अर्धवार्षिक अवधिमा ८१ मुद्दा दर्ता भएका छन् ।
प्रदेश प्रहरी कार्यालयको अर्धवार्षिक कार्य प्रगति विवरणअनुसार ६ महिनाको अवधिमा २४ नाल अवैध हातहतियारसहित १५ जनालाई पक्राउ गरिएको छ । २२ हजार १ सय ९८ लिटर अवैध मदिरा नष्ट गरिएको छ । ‘अवैध हातहतियार र घरेलु मदिराका कारण पनि अपराध बढेको पाइयो,’ डीआईजी ऐरले भने, ‘मातहतका सबै निकायलाई कडाइ गर्न निर्देशनसमेत दिइएको छ ।’
यो वर्ष गत वर्षभन्दा लागूऔषध दुर्व्यसनी तथा अवैध बेचबिखन नियन्त्रणमा १ सय १४ प्रतिशतले मुद्दा बढेको र १ सय १६ प्रतिशत बढी अभियुक्त पक्राउ गरिएको कार्यालयले जनाएको छ । गत वर्षको पुस मसान्तसम्म लागूऔषधमा २१ मुद्दा दर्ता गरिएका थिए । ३७ जनालाई पक्राउ गरिएको थियो । यो वर्ष ४५ मुद्दा दर्ता गरिएको छ । ८० जना पक्राउ परेका छन् । ‘नाकामा चेकजाँचलाई कडाइ गरिएको छ,’ ऐरले भने, ‘साधा पोसाकका प्रहरीहरू परिचालनलाई पनि तीव्रता दिइएकाले संलग्नहरू धमाधम पक्राउ परेका हुन् ।’ उनीहरूबाट ५९ ग्राम ब्राउनसुगर र १ किलो चरेस बरामद गरिएको उनले जानकारी दिए ।
प्रदेश प्रहरीले फरार अभियुक्त पक्राउलाई पनि अभियानकै रूपमा सञ्चालन गरेको छ । चालु आर्थिक वर्षमा विभिन्न मुद्दाका १ सय ४१ फरार अपराधीहरू पक्राउ परेका छन् । उनीहरूलाई ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ । फरार अपराधीबाट १६ लाख १० हजार रुपैयाँ असुल गरिएको प्रहरीले जनाएको छ । ६ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघनविरुद्धको अभियानलाई पनि प्रदेश प्रहरीले तीव्र बनाएको हो । साउनयता २० हजार ५ सय १ सवारी साधनलाई कारबाही गरी १ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन गरिएको हो । प्रहरीको आन्तरिक अनुशासनलाई पनि प्रभावकारी बनाइएको डीआईजी ऐरले बताए। ‘राम्रो गर्नेलाई पुरस्कृत र प्रहरी हितविपरीत कार्य गर्नेलाई दण्ड सजायको व्यवस्था गरेका छौं,’ उनले भने, ‘जसले हाम्रो कामकारबाहीलाई चुस्त बनाएको छ।’
६ महिनाको अवधिमा ३ सय ४८ प्रहरीलाई पुरस्कृत र १ सय ५८ जनालाई सजाय दिइएको उनले जानकारी दिए । उनले समुदायलाई जागरुक गराउँदा पनि आपराधिक घटनामा कमी आएको बताए । यो वर्ष लागूऔषध, घरेलु हिंसालगायत न्यूनीकरणका लागि प्रहरीले ३ हजार ५ सय ७९ जनचेतनामूलक कार्यक्रम गरेको छ । जसबाट ३ लाख ४९ जना लाभान्वित भएका छन्। सबै नागरिकलाई सचेत बनाउन सके आपराधिक घटना रोक्न प्रहरीलाई सफलता मिल्ने उनले बताए । पछिल्लो समय सबै जिल्लामा ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्र बनाइएको उनको भनाइ छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।