इरान विश्वकप २०२२ का लागि छनोट



काठमाडौँ। इरान आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ।

कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा छिमेकी इराकलाई १-० ले पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको हो। तेहरानस्थित आजादी स्टेडियममा इरानलाई जिताउन मेहदी तारेमीले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए। उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए।

यसअघि प्रशिक्षकसँगको विवादका कारण तारेमीलाई टिमबाट खेल्न दिइएको थिएन। तर प्रशिक्षक ड्राग स्कोकिचले इराकविरुद्धको खेलमा उनलाई मैदान उतारेका थिए।

इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले खेलाडीहरुलाई बधाई दिएको इरान न्युज एजेन्सीले जनाएको छ। ‘यो जितले इरानी जनतामा खुसीको लहर ल्यायो’ उनले भनेका छन्। तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ। हाल शीर्ष स्थानमा रहेको इरान शीर्ष दुईमा रहने पक्का छ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन्। इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो। यसै समूहको अर्को खेलमा लेवनानलाई १-० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ। दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ।

यस्तै सिरियालाई २-० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ। यसैगरी छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन्। अष्ट्रेलियाले भियतनामलाई ४-० र जापानले चीनलाई २-० ले हरायो। जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ। साउदी अरेबिया शीर्ष स्थानमा छ। यस समूहबाट तीन टिम सिधै विश्वकप छनोट हुने होडमा छन्।

आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि अहिलेसम्म आयोजक कतारसहित १४ राष्ट्र छनोट भइसकेका छन्। कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १३ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेका हुन्। अब १८ राष्ट्र छनोट हुन बाँकी छ।

अहिलेसम्म छनोट भएका १४ टिम

युरोप: फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन,

सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स

दक्षिण अमेरिका: ब्राजिल, अर्जेन्टिना

एसिया: इरान

आयोजक: कतार