एकैपटक तीनै तहको चुनाव गरे खर्च कम हुन्छ: अध्यक्ष नेपाल



काठमाडौँ। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुनुपर्ने बताएका छन्।

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरी राखेर सम्पन्न गर्नुपर्ने बताए।

उनले सत्तारुढ दलहरुबीच एकै पटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग विस्तृत छलफल गरिरहेको बताए। एकै पटकमा तीन वटा नै तहको निर्वाचन गर्न सके खर्च कटौती हुने नेपालको भनाइ छ।

उनले भने, ‘एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपैयाँ खर्च हुन्छ। योभन्दा पहिला ५ चरणमा चुनाव भएको थियो। त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो।

यदि एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ। उम्मेदवारको पनि खर्च कम हुन्छ। त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ।’ अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरुले जित्ने दाबीसमेत गरे।