एमालेलाई सञ्चारमन्त्रीको सुझाव: निर्वाचनका बारेमा भ्रम नछरोस्



काठमाडौँ। सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी एमालेले स्थानीय निर्वाचनबारे भ्रम फैलाएको बताएका छन्। उनले सरकारले संविधानको व्यवस्थाअनुसार समयमै आवधिक निर्वाचन गर्ने र त्यसबारे पूर्णरुपमा सतर्क रहेको बताए।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले स्थानीय निर्वाचनबारे संविधान र ऐनको व्यवस्था बाझिएकोमा संविधानबमोजिम ऐनलाई संशोधन गरेर संविधानबमोजिमै सरकारले निर्वाचन गर्ने तयारीमा रहेको बताए। ‘प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको छ, ऐन संशोधनको विषय संसद्‌मै छलफल हुनुपर्ने विषय हो। यो मात्रै होइन, धेरै कानुनहरु संसद्‌मा अड्किरहेका छन्। संसदलाई प्रभावकारी बनाउने दायित्व प्रमुख प्रतिपक्षी दलको पनि हो,’ मन्त्री कार्कीले भने।

उनले लामो प्रजातान्त्रिक अभ्यासबाट आएको भए पनि एमालेले निर्वाचनको विषयलाई राजनीतिक मुद्दाको रुपमा अघि बढाएको बताए। ‘निर्वाचन राष्ट्रिय एजेन्डा हो, यो विषयमा राजनीति गरेर जनतामा भ्रम नछर्न म आग्रह गर्दछु,’ उनले भने।

मन्त्री कार्कीले सरकारले संविधानको मर्मबमोजिम सिंहदरबारको सेवा र सुविधालाई स्थानीय तहमै थप प्रभावकारी ढंगले प्रदान गर्ने व्यवस्थामा लागिरहेको बताए । ‘यो सरकारले लोकतन्त्रका मूल मर्म, संविधानको भावना र मर्मअनुसार मुलुकलाई अघि बढाउँछ। संविधानले स्थानीय सरकार र आवधिक निर्वाचनको परिकल्पना गरेको छ,’ उनले भने, ‘सिंहदरबारको अधिकार र त्यहाँबाट प्रवाह हुने सेवा र सुविधा स्थानीय तहमै पुर्‍याउने संविधानले गरेको व्यवस्थालाई सरकार अझै प्रभावकारी बनाउने दिशामा प्रतिबद्ध छ।’

उनले सरकारले संविधान र ऐनका सन्दर्भमा देखिएका अन्तरद्वन्द्व समाधानका लागि कानुनविद्हरुसँग समेत परामर्श गरेको बताए ।‘म सरकारको तर्फबाट स्पष्ट गर्न चाहन्छु, कि संविधानले व्यवस्था गरेअनुसारै हामी निर्वाचन सम्पन्न गर्नेछौं। र, जनताको जुन सार्वभौमिक अधिकार छ, त्यसलाई अक्षुण राख्दै जनताको भावनाअनुसार अघि बढ्नेछौं,’ मन्त्री कार्कीले भने।