काठमाडौँ। राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा बुधबार सार्वजनिक हुने भएको छ।
योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेर सार्वजनिक गर्न लागेको हो। जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो।
नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।