काठमाडौँ। बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ। सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ।
मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदान स्थलमा बुथ निर्माणको काम, मतदान अधिकृत खटाउने लगायतका काम सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए। उनले भने–‘निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ। बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुन्छ।’
आयोगले २१ बुँदे स्वास्थ्य मापदण्डहरू तय गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाएको छ। सरकार र सीसीएमसीले तयार गरेको स्वास्थ्य मापदण्डका आधारमा आयोगले स्वास्थ्य मापदण्डहरू तयार गरेको छ। ती स्वास्थ्य मापदण्डहरू पूर्ण रूपमा पालना गरेर मतदान गर्ने तय गरिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए।
यस्तै निर्वाचन सुरक्षाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको छ। उनले भने –‘सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था मिलाउनका लागि अनुरोध गरिएको छ। जिल्ला निर्वाचन अधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका सम्पूर्ण पदाधिकारीहरू भएर आवश्यकता अनुसार निर्वाचन सुरक्षा बैठक बसेर सुरक्षाको सबै चाँजोपाँजो पनि मिलाइएको छ।’
आउँदो फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि समाप्त हुँदैछ। सो रिक्त हुने स्थानमा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र काँग्रेसका ३ सांसद रहेका छ। सो रिक्त रहेको स्थानमा प्रदेश १ बाट ३, प्रदेश नम्बर २ बाट २ , बागमती प्रदेशबाट २, गण्डकीबाट ३, लुम्बिनीबाट ३, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ गरी १९ सांसद निर्वाचित हुन लागेका हुन्।
निर्वाचनका लागि आयोगले ७ प्रदेशमा ८ मतदान स्थल तय गरेको छ। जस अनुसार प्रदेश नम्बर १ मा निर्वाचन कार्यालय विराटनगर र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल कायम गरिएको छ। प्रदेश नम्बर २ मा महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान स्थल तय गरिएको छ।
यता बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशमा दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्र भवनमा कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेतको भवनमा र सुदूरपश्चिम प्रदेशमा धनगढीमा रहेको प्रदेश सभा भवनमा मतदानस्थल कायम गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि व्यवस्था मिलाइएको छ भने बुधबार साँझदेखि मतगणनाको काम हुने शर्माले जानकारी दिए। उनले भने–‘दिउँसो ३ बजे निर्वाचन सम्पन्न भइसकेपछि मतपेटिकाहरू बन्द गरेपछि सर्वदलीय बैठक हुन्छ । मतदान सकिएको तीन चार घण्टापछि नै मतगणना हुन्छ।’
राष्ट्रिय सभाको निर्वाचनमा १९ सिटका लागि ९ दलका ४३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। २ हजार २५ मतदाताले भोट खसाल्नेछन्। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ। उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ।