‘वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ’



काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन्। सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले संविधान अनुसरण गरेर जानुपर्नेमा जोड दिए।

‘स्थानीय तहको सन्दर्भमा पाँच वर्षको अवधि हुने र स्थानीय तहको रिक्तता नहुने नहुने भन्ने कुराको संविधानमा स्पष्ट छ,’ उनले रातोपाटीसँग भने, ‘त्यो नै आजका दिनमा हामीले अनुसरण गर्ने बाटो हुनुपर्छ।’ कानुनको कुनै छिद्र देखाएर वैशाखको निर्वाचन सार्ने कोसिस गरिए दीर्घकालमा ठूलो क्षति पुग्ने उनको भनाइ छ।

‘वैशाखको निर्वाचन सार्ने वा कानुनको कुनै छिद्र देखाएर हामीले आफ्ना तात्कालिक स्वार्थहरुलाई पुरा गर्ने कोसिस गरौं भने दीर्घकालमा ठूलो क्षति पुर्याउँछ,’महामन्त्री थापाले भने। काँग्रेसले यो बेलामा संविधानको मर्म अनुसार स्थानीय चुनाव तत्काल गरिहाल्नु पर्नेमा थापाको जोड छ।

​‘सत्तारुढ गठबन्धनमा वैशाखमा स्थानीय तहको चुनाव सार्ने खोजिएको कुरा मैले बाहिर सुनिरहेको छु,’ उनी भन्छन् ‘संविधान र कानुनले देखाएको बाटोभन्दा फरक निर्णय किन गर्ने भन्ने नेतृत्वले औचित्य पुष्टि गर्नुपर्छ।’ महामन्त्री थापाले पार्टी नेतृत्वले संविधान र कानुनभन्दा फरक गएर गरेको निर्णय गरेर औचित्य पुष्टि गर्न खोजेपनि आफूलाई मान्य नहुने बताए । थापाले भने, ‘म मेरो पोजिसनमा छु। कसैले पुष्टि गरे पनि मान्दिनँ। यो मेरो कुरा भयो। म यो राखिराख्छु। त्यो कुरामा म रहन्छु।’

यस्तै थापाले स्थानीय तहको निर्वाचनका सन्दर्भमा तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने बताए। ‘पार्टीले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पोजिसन लिने हो भने तत्काल केन्द्रीय समितिको बैठकबाट छलफल गर्नुपर्यो नि १ जसबारे भोलि सिंगो पार्टीले उत्तर दिनुपर्छ। यो विषय पार्टीका दुई तीन जना नेता बसेर गरेर हुन्छ?,’महामन्त्री थापाको प्रश्न छ।

सामाजिक दुरी कायम गरेर भएपनि तुरुन्त पार्टीको केन्द्रीय समिति बैठक बस्नुपर्ने थापाले बताए। ‘पदाधिकारी सदाधिकारी होइन । अब केन्द्रीय कमिटी बैठक बस्नुपर्छ । जस्तो अप्ठ्यारो परे पनि बैठक बस्नुपर्छ। सामाजिक दुरी कायम गरेर भएपनि तुरुन्त पार्टीको केन्द्रीय समिति बैठक बस्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय समितिको बैठकमा यस विषयबारे छलफल हुनुपर्छ। भर्खर महाधिवेशनबाट आएका केन्द्रीय सदस्य साथीहरुले कुरा राख्न पाउनुपर्छ ।’

कोभिड–१९ लाई बहाना बनाएर केन्द्रीय समिति बैठक नराखि स्थानीय तहको चुनाव सार्ने निर्णय गरिए पार्टीले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताए । ‘अब कोभिड–१९का बीचमा नै बैठक राख्नुपर्ने अवस्था आयो । कोभिड छ बैठक बस्न सकिएन । बैठक बस्न नसकिएकाले गर्दा निर्णय गरियो भने पार्टीले धेरै ठूलो मूल्य चुकाउनुपर्छ,’ थापाले भने । यो समाचार रातोपाटीमा छ।