काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सोमबार सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भेटवार्ता गरेपछि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पाँचदलीय समन्वय समितिको बैठक डाक्न लगाएका हुन्।
समन्वय समिति संयोजक रामचन्द्र पौडेलका अनुसार सोमबार विहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुनेछ। पौडेलले भने, ‘निर्वाचन आयोगले प्रस्ताव गरेको मिति (१४ र २२ वैशाख) बारे सरकारको धारणा आउला, कानूनी जटिलताहरुबारे महान्याधिवक्ताले पनि भन्नुहोला नि !’