चुनावको मिति तोक्नेबारे देउवा–प्रचण्डबीच भेटवार्ता,



काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्तामा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको थियो।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत भएका छन्।त्यसका लागि उनीहरुले मंगलबार बिहान नौ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझाव अनुसार चुनावको मिति तोक्ने बारेमा समेत उनीहरुबीच छलफल भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘दुई नेताबीच संवैधानिक व्यवस्था अनुसार नै चुनाव गर्ने र त्यसका लागि समन्वय समितिसँग समेत छलफल गरेर सरकारले मिति तोक्नेबारे छलफल भएको छ’, मल्लले भने, ‘त्यसका लागि मंगलबार समितिको बैठक बोलाउने निधो भएको छ। ’

यसअघि माओवादी केन्द्रले स्थानीयसहित तीनै तहको निर्वाचन एकैपटक गर्दा राज्यको सम्पत्ति कम खर्च हुने भन्दै प्रस्ताव अघि बढाएको थियो । तर, उक्त प्रस्तावमा आलोचना बढेपछि संवैधानिक व्यवस्था अनुसार नै निर्वाचन गर्न माओवादी तयार भएको हो।