भारतले भन्यो,‘सीमा विवाद सुल्झाउन संवाद नै उपयुक्त माध्यम’



काठमाडौँ। नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ। नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन्।

विरोधका स्वरहरू बढ्न थालेपछि नेपाल भारतको सीमा समस्याबारे भारतीय दूतावासले प्रस्टीकरण दिएको छ। दूतावासका प्रवक्ताले दिएको प्रतिक्रियामा भारत-नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेको उल्लेख छ।

दूतावासले सीमा विवादबारे दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा स्पष्ट पारेको छ । ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई सधैँ हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न गर्न सकिन्छ’, विज्ञप्तिमा भनिएको छ ।