काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति आपत्ति जनाएको छ।
सोमबार एकीकृत समाजवादीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी गैर कानुनी रूपमा भारतले लिपुलेकमा सडक विस्तार गरेको बताएका हुन्।
‘नेपाल सरकारसँग कुनै छलफल विना गरिने विकास निर्माणको काम गैर कानुनी र नेपालको भौगोलिक अखण्डता र स्वाधीनताको गम्भीर उल्लङ्घन हो,’ पूर्व प्रधानमन्त्री खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। नेपालको भूमि लिपुलेकमा सडक बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति एकीकृत समाजवादीको ध्यानाकर्षण भएको खनालको भनाइ छ।
लिपुलेक कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम क्षेत्र भएको भारत सरकारलाई राम्रोसँग थाहा भएको एकीकृत समाजवादीले जनाएको छ । आफ्नो भूमिको रक्षाका लागि नेपाल सरकारलाई आवश्यक कदम चाल्न खनालको आग्रह छ। ‘हाम्रो पार्टीले सडक निर्माणको घोर भर्त्सना गर्दछ। साथै सरकारलाई आफ्नो क्षेत्रको रक्षाका लागि आवश्यक कदम चाल्न हाम्रो आग्रह छ,’ विज्ञप्तिमा भनिएको छ।