राष्ट्रियसभा निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन



काठमाडौँ। आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ। निर्वाचन आयोगले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो। यससँगै आयोगले उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ।

आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र काँग्रेस उम्मेदवारलाई रुख चुनाव चिन्ह प्रदान गरेको छ।

यस्तै लोसपाका उम्मेदवारलाई साइकल, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलकारभित्र हँसिया हथौडा तथा नेमकिपाका उम्मेदवारलाई मादल चिन्ह प्रदान गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रियसभाको १२ गते हुने चुनावबाट १९ जना निर्वाचित हुनेछन्।

यसैबीच निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता जारी गरिएको छ। आचारसंहिता सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दललगायतमा लागू हुनेछ।