‘प्रचण्डको टाउकोमा टेकेर ओलीले आफूलाई अग्लो देखाउन खोजे’



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन एमाले अध्यक्ष केपी ओलीले विगतमा नेकपा एकता गराएको टिप्पणी गरेका छन्।

ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको नेपालको भनाइ छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले ओलीले आफूले गज्जव काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप समेत लगाए। उनले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे। नेपालले भने, ‘अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि। महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि। विदेशीहरु प्यारा छन, उनका लागि। तर आफ्नै पार्टीका कार्यकर्ताहरु, जसले उनलाई बा भन्दैनन्। जसले उसलाई पुज्दैनन्। जसले उनको भजन गाउँदैनन्। उनीहरुलाई ओलीले हेर्दैनन्।’

उनले अगाडि भने, ‘विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरूको जुलुस त्यहाँ पुग्ने गर्दछ। तर बालुवाटारबाट विदा हुने बेलामा त्यहाँ कोही जाँदैनन्। तर केपी बाको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै। बालकोट पुग्यो। बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको।’

नेपालले अगाडि भने, ‘पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ। कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ। तपाईहरु मध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ। विचराको त्यो हालत। बालुवाटारबाट बालकोट पुग्ने वित्तिकै भुक्नु परेछ। हामी पहिले खुसी भएका थियौं। दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी भनेर। देशका मुख्य बाम घटकका नेताहरु एक ठाउँमा आउने भए। किनभने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि हामीले नै भूमिका खेलेका थियौं। यो उद्देश्य भनेको प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ ।’ उनले पार्टीभित्र ‘केपी बा’ भन्नेहरूलाई मात्रै ओलीले संरक्षण दिने गरेको समेत आरोप लगाए ।