मन्त्री आलेको निर्देशनपछि बतासले भत्काउन सुरु गर्यो संरचना



काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनपछि नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काउन सुरु गरिएको छ।

सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन मन्त्री आलेले तीन दिनको समय दिएका थिए। उक्त चेतावनीपछि शुक्रबार नै सो भौतिक संरचना भत्काउन सुरु गरिएको हो।

‘मैले तीन दिनभित्र सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु। यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु’, मन्त्री आलेले भनेका थिए।

मन्त्री आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिसकेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका हुन्। समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सदस्य छन्। समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्यययन गरी सुझाव पेश गर्न निर्देशन दिइएको छ।