काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकूल आउनसक्ने बताएका छन्।
तर यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उनको दाबी छ। शुक्रबार देशभरका ६३ जिल्लाको अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने बताए। चार वर्षअघि विभिन्न पक्षलाई व्यवस्थापन गर्ने नाममा सिट बाँडफाँट गरेको र अहिले त्यसलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनेको उनले बताए।
ओलीले अघि भने, ‘अहिले पनि एक्लै हामी मजबूत छौं। तर ५० प्रतिशत चाहिने अवस्थामा सम्पूर्ण शक्ति मिलेर प्रतिकूल परिस्थिति आउन सक्छ। सकारात्मक परिणाम आएन भने अनौठो मान्न जरुरी छैन किनकि यो आजको जनादेश होइन।’
यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उनले बताए। ओलीले अघि भने, ‘जो जति कमजोर छ, उसले त्यति चर्कोसँग गठबन्धन भनेर कराइरहेको छ। एमालेलाई गठबन्धन चाहिएको छैन, हामी एक्लै लड्न सक्छौं।’ राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ।