काठमाडौँ। भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि बिस्तारै त्यसको असर देखिन थालेको छ।
निकै सङ्क्रामक भनिएको ओमिक्रोन भेरियन्ट नेपालमा समेत पुष्टि भइसकेको छ। पछिल्लो ५ दिनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा बिस्तारै कोरोनाको सङ्क्रमण दर उकालो लाग्न थालेको छ। यो हप्ताको सुरुवातमा सङ्क्रमण दर साढे २ प्रतिशतको हाराहारीमा रहेकोमा बिहीबार यो बढेर ५ प्रतिशत नजिक पुगेको छ।
पुस २२ गते १२ हजार ९९ परीक्षण गर्दा ५४० जनामा सङ्क्रमण पुष्टि भएको छ। सो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३१ रहेको छ। त्यसैगरी पुस २१ गते १० हजार २६७ जनाको परीक्षण गर्दा ४३५ जनामा कोरोना पुष्टि भएको थियो।
सोही दिन सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २२५ थियो। यस्तै पुस २० गते ९ हजार ३२९ जनाको परीक्षणमा ३९३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। मन्त्रालयका अनुसार पुस २० गतेको सङ्क्रमित सङ्ख्या ५ हजार ९४ छ।
यता पुस १९ गते १२ हजार ४९८ जनाको परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। १९ गते ५ हजार ५ जना सक्रिय सङ्क्रमित रहेका थिए। यस्तै पुस १८ गते ७ हजार ६३१ जनाको परीक्षण गर्दा २१६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
उक्त दिन ४ हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेका थिए। बितेको ५ दिनमा सङ्क्रमण दर १।६३ प्रतिशतले बढेको पाइएको छ। यो तथ्यांकअनुसार आगामी दिनमा सङ्क्रमण दर बढ्न सक्ने देखिएको छ।