माओवादी केन्द्र हुम्लाका पुर्व सांसद लामा सहित केही नेताहरू एमालेमा प्रवेश



हुम्ला। नेकपा माओवादी केन्द्र हुम्लाका नेता तथा संविधान सभा २०६४ का सांसद छिमी दोर्जी लामा सहित केही नेताहरू एमालेमा प्रवेश गरेका छ्न्।

जिल्लामा मंगलबार लामा सहित माओवादी केन्द्रका प्रदेश सदस्य तथा खर्पुनाथ गाउँपालिकाका अध्यक्ष गणेश रावल लगायत केही नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको गणेश रावलले बताए।

रावलले माओवादी केन्द्रले जनयुद्ध र जनताको भावना अनुरुप काम गर्न छोडेका कारण एमालेमा समाहित भएको बताए। उनले हुम्ला माओवादिको ४० प्रतिशत नेता कार्यकर्ता सहित छिमी दोर्जी लामाको नेतृत्वमा एमालेमा समाहित भएको बताए।

हुम्ला माओवादी केन्द्रमा पार्टिको ८ औं महाधिबेशनमा हुम्लाबाट विजय भण्डारी र छक्क बहादुर लामा केन्द्रिय सदस्यमा मनोनित भएपछि जिल्लामा अन्तर कलह सृजना भएको थियो।

त्यसो त २०७४ सालको निर्वाचनमा पार्टिले छिमी दोर्जि लामालाई टिकट दिएपछी बिद्रोह गरेर छक्क बहादुर लामा स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाब लडे र जितेका थिए। छक्क बहादुर लामा तिनै सांसद हुन् जसले एमाले र माओबादी मिलेर बनेको नेकपा टुक्रिंदा आफू प्रचण्डको साथमा नरहेको र एमालेमै रहेको विज्ञप्ति जारी गरेर फेरि पछि आफू माओबादी केन्द्रमै रहेको विज्ञप्ती जारी गरेका थिए।

मंगलबार एमालेमा प्रबेश गरेका छिमी लामा सहितको समूहलाई कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दल रावलले सहमती पत्रमा हस्ताक्षर गराएर एमाले अध्यक्ष केपी शर्मा ओलिले उनकै निवासमा स्वागत सहित पार्टी प्रबेश गराएका हुन्। माओबादी केन्द्र हुम्लाले भने यो विषयमा आफ्नो धारणा व्यक्त गरेको छैन।