मजदुरहरूद्वारा वडा कार्यालयमा तालाबन्दी, ज्याला पाएपछि मात्रै खोलिने



कालिकोट। कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन्। मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि वडा नं १ बाट १ सय ३२ जना कामदार छनोट भएका थिए। प्रति व्यक्ति ५० दिनसम्म काम गरेपनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए।

उनले आफुहरुलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपाएको बताए। उनले भने, ‘ज्याला नपाउञ्जेल ताला खोल्ने पक्षमा हामी छैनौं।’ ताला लगाउन वडाका ४८ महिला तथा पुरुष कामदार वडा कार्यालयमै पुगेका थिए।

रासस