राष्ट्रिय सभा: कांग्रेसले ६, माओवादी र समाजवादीलाई ५/५ सिट



काठमाडौँ। सत्ता साझेदार दलहरुले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हुन्।

कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने भएका छन्। खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ। यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।

यसो गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाए। एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ। आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ।