पुस महिनाभरि नामावली संकलन जारी रहने



काठमाडौँ। निर्वाचन आयोगले यतिबेला देशैभरि नयाँ मतदाता नामावली संकलन गरिरहेको छ। देशभरका निर्वाचन कार्यालयमा मतदाता सूचीमा नाम चढाउनेहरुको भीड लागेको छ। अहिलेसम्म करिब साढे ७ लाख नयाँ मतदाता थपिइसकेका छन्। अझै थपिने क्रम जारी छ।

संविधानतः चुनावमा भोट हाल्न पाउने उमेर भनेको १८ वर्ष हो। तर, निर्वाचन आयोगले १६ वर्ष पुगेका नेपाली नागरिकको नामसमेत सूचीकृत गरिरहेको छ। मतदाताका रुपमा सूचीकृत हुन १८ वर्षसम्म कुर्नु नपर्ने आयोगका अधिकारीहरु बताउँछन्।
१६ वर्ष पुगेर नागरिकता बनाइसकेपछि मतदाताका रुपमा सूचीकृत हुन पाइने आयोगले जनाएको छ। त्यसरी नाम दर्ता गरेको व्यक्ति १८ वर्ष पुग्नासाथ भोटर लिस्टमा सफ्टवेयरबाटै नाम स्वतः चढ्ने  निर्वाचन  आयोगले सिस्टम बनाएको छ। नाम संकलन चुनाव घोषणा नहुञ्जेल पुस महिनाभरि नामावली संकलन जारी रहने आयोगले जनाएको छ।