एमालेका पूर्वसांसद रायमाझी एकीकृत समाजवादीमा



बुटवल। नेकपा एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचारणविपरीत अधिनायकवादी सोंचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए।

विगतदेखि नै पार्टीमा चरम विकृति र बिसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरेपनि असफल भएको रायमाझीले उल्लेख गरे। रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताएका छन्।

पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुंदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए। तर एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए।

उनी एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य थिए। उनीसंगै एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेका एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बताए।

बराल गत स्थानीय चुनावमा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएर झिनो मतले पराजित भएका थिए। पौडेल साविकको छहरा गाविस अध्यक्ष हुन्। यो समाचार अनलाइनखबरमा प्रकाशित छ।