रातोपाटीकर्मी शाहीमाथि ज्यान मार्ने धम्की



सुर्खेत। रातोपाटी अनलाइनका कर्णाली प्रदेश प्रतिनिधि पंखबहादुर शाहीलाई समाचार लेखेकै कारण धम्की दिइएको छ।

सुर्खेतको वीरेन्द्र चोकमा स्व। राजा वीरेन्द्रको सालिक राखेको विषयलाई लिएर पत्रकार शाहीले समाचार लेखेका थिए। लामो समयदेखि नै राजतन्त्रवादी र अन्य राजनीतिक दल, स्थानीय सरकारबीच विवाद रहेको चोकमा राजावादी संगठनले सालिक ठड्याएको थियो।

सोही विषयलाई आधार बनाई लेखिएको समाचारमा राजतन्त्रमा विश्वास राख्ने केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पत्रकार शाहीलाई ज्यान मार्ने धम्की दिएका थिए। उनीहरूले ‘समाचारको आधारमा कसैले सालिक हटाउन खोजिएको खण्डमा पत्रकारलाई चिनेको छु, बाँकी छाडिने छैन’ जस्ता धम्कीपूर्ण पोष्ट गरेका छन्। यता पत्रकार महासंघ सुर्खेत शाहले पत्रकार शाहीलाई धम्की दिने राजकुमार शाही, भरत शाही ठकुरी र टिजंग शाही लगायतलाई कारबाही गर्न माग गरेको छ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले समाचार लेखेकै भरमा पत्रकार शाहीलाई सामाजिक सञ्जालमार्फत डर, धम्की र अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले आपत्ति जनाएको छ।