नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डेरा सर्ने



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेरा सर्ने भएका छन्।

शुक्रबार साँझ बसेको स्थायी कमिटी बैठकपछि प्रज्ञा भवनमा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले अब आफू डेरा सर्ने तयारीमा रहेको बताएका हुन्। अध्यक्ष प्रचण्डले महाधिवेशन भव्य र सभ्य रुपमा अघि बढिरहेको भन्दै शनिबार नयाँ केन्द्रीय कमिटी निर्वाचित हुने बताए।

‘हाम्रो आठौं राष्ट्रिय महाधिवेशन भव्य र सभ्य रुपमा अघि बढिरहेको छ। आज प्रतिवदेन जोडदार ढंगले पारित भयो। भोलि विधान पारित हुन्छ र केन्द्रीय समिति पनि भोली नै निर्वाचित हुन्छ’, प्रचण्डको भनाई छ। अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथि आएको एउटा फरक मतलाई सम्मान गर्ने र अरु फरक मत समेटेर राजनीतिक तथा वैचारिक प्रतिवेदन पास भएको जानकारी समेत गराए।

ऐतिहासिक वैचारिक विकासको सुरुवात भएको भन्दै आगामी दुवै निर्वाचनपछि गरिने विशेष महाधिवेशनले संगठनको रुपान्तरण र विचारलाई समेत अझ विकसित गर्ने अध्यक्ष प्रचण्डको भनाई छ।

माओवादी केन्द्रीय सदस्य काठमाडौं बस्न नपाउने 

त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने बताइएको छ। पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेका अध्यक्ष प्रचण्डले प्रतिनिधिलाई जवाफ दिने क्रममा बन्दसत्रमा केन्द्रीय सदस्यले काठमाडौं बस्न नपाउने घोषणा गरेका हुन् ।

’पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ । पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन्,’ प्रचण्डले भने । तर प्रचण्डको यो भनाइ कार्यान्वयनमा आउन कठीन रहेको नेताहरु बताउँछन् ।