सुर्खेत। नेकपा एकीकृत समाजवादीका केन्द्रीय उप-महासचिव प्रकाश ज्वालाले केपी ओलीका कारण एमाले कोमामा पुगेको बताए।
शुक्रबार उप-महासचिव ज्वालाले एकीकृत समाजवादी जिल्ला कमिटी सुर्खेतको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। उनले भने, ‘अहिले जस्तो सुकै परिस्थिति आए पनि हामी आत्तिनेवाला छैनौं। विगतमा सुर्खेत जिल्लामा एमाले पार्टी निर्माण गर्दा हामी तीन चार जना मात्र थियौं। पार्टीलाई नयाँ उचाईमा पुर्याउने हामी नै हौं। अहिले केपी ओलीका कारण नेकपा एमाले कोमामा पुगेको अवस्था छ।एमालेको कुनै काम छैन।’
साथै उनले पार्टीलाई सुदृढ बनाउन बैठक तथा भेलाको आवश्यकता रहेको स्पष्ट पारे। उनले अगाडि भने, ‘पार्टीलाई गतिशील बनाउनु छ भने, संगठनलाई मजबुत बनाउँनु छ भने पार्टीमा रहेका हरेक सदस्यहरु सक्रिय हुनुपर्छ। जिम्मेवारी भनेको फरक विषय हो। पद भनेको अस्थायी हुन्छ तर पार्टी भनेको जीवन हो र जीवन्त रहन्छ।’
उनले पार्टी बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। ज्वाला भन्छन्,‘अब हाम्रो नजर नजिकिदै आउदै गरेको राष्ट्रिय सभा, स्थानिय, प्रदेश र संघीय निर्वाचनमा जानेछ। सबै तहका निर्वाचनमा पार्टीलाई शसक्त र बलियो रुपमा प्रस्तुत गर्नु पर्ने चुनौती रहेकोले सबै नेता कार्यकर्ताहरुलाई सक्रिय भएर लाग्नुपर्नेछ।’
उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिट्व्युरो सदस्य एवम् कर्णाली प्रदेशका सह—इन्चार्ज चन्द्रबहादुर शाही, कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर बहादुर थापा, पार्टीका केन्द्रीय सदस्य, सल्लाहकार परिषदका सदस्यहरू एवं प्रदेश कमिटी सदस्यहरू तथा भातृ संगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।