काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीतिक प्रस्तावमाथि फरक मत प्रकट भइरहेका छन्।
केन्द्रको आठौं महाधिवेशनका अवसरमा शुक्रबार अध्यक्ष प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिनेछन्। यसैबीच संघीय राजधानी काठमाडौँ शंखरापुर नगरपालिकाका स्थायी बासिन्दा तथा माओवादी केन्द्रका युवा नेता शंकर दुलालले अध्यक्ष प्रचण्डलाई खुमलटार छोड्न आग्रह गरेका छन्।
प्रचण्डद्वारा प्रस्तावित राजनीतिक प्रस्तावलाई स्वीकार गरेका दुलालले खुमलटार छोडेर शंखरापुरमा डेरा सार्न अनुरोध गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘विचारको संश्लेषण गर्दा र माओवादीको आठौं महाधिवेशन चलिरहँदा र आदर्श पुरुषको रूपमा क.प्रचण्डलाई वहाँको दृढ संकल्प देख्दा आशा जागेको छ। वहाँले जुन सांस्कृतिक रुपान्तरणमा म आफै फिल्डमा खट्छु भन्नू भयो यसमा सलाम गर्दै नतमस्तक हुँदै शिर झुकाएर सलाम गर्छु। काठमाडौँको किसानको छोरो त्यो नि हुनेखाने किसानको छोरो। तपाईंको आदर्शको सधै शिरोधार्य गर्दै आग्रह गर्छु, तपाईं र तपाइको परिवार अट्ने, भेट्घाट सहज हुने, मिटिङ्ग बैठक सहज सञ्चालन गर्न सकिने र खुमलटारको बिवादित बसार्इभन्दा फरक हुने स्थान मेरो घर तपाईं रहुन्जेल तपाइको लागि अर्पण गर्नेछु।’
उनले अगाडि लेखेका छन्, ‘आँट गनुहोस् खुमलटारबाट बसाइ सर्नुहोस्। शंखरापुरको गाउँमा स्वागत छ। निःशर्त तपार्इंको सुरक्षामा आजिवनर्पण पनि गर्नेछु। सुनेर बुझेर सम्बोधन नभए जुन जोगि आए नि कानै चिरेको भनेर म आफै नि भन्न बाध्य हुनेछु। होइन भने क. प्रचण्डको सामु मलाई यो नि चाहियो, मेरो यो मान्छेलाई यो चाहियो, यो त यस्तो हो नि भन्ने झुण्डको वरिपरि घेरामा बसेर लेखेको दस्तावेज कथा हुनेछ। यसो भन्दै गर्दा फेरि मेरै घरमा भन्ने होइन म जस्तै किसानको छोराको घरमा बस्ने आट गर्नोस तपाईं युगको जनानेता नै हो।’