सुर्खेत। बुधबार दिउँसो १२ बजेको समय। वीरेन्द्रनगरमा सिमसिमे वर्षा भइरहेका कारण बाहिर सुनसान थियो। चिसोले गर्दा मान्छेहरु घरभित्रै थिए । पसलहरु खुले पनि चहल–पहल खासै थिएन।
वीरेन्द्रनगरको मुख्य चोक ‘वीरेन्द्र चोक’ नजिक एकाएक एउटा समूह तामझामसहित आयो। त्यो समूहले स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक ल्याएको थियो। टाउकोमा श्रीपेच, आँखामा चश्मासहित वीरेन्द्रकै वनावटमा रहेको अर्धकदको सालिक चोकमा ठड्याइयो।
त्यो सालिक ठड्याउने समूह को हो भन्नेसमेत सुरुमा कसैले पत्तो पाएनन्। राजाको सालिक ठड्याउने समूह थियो– स्वतन्त्र सुर्खेतीवासी जनता समूह। राजतन्त्रवादी उक्त समूहले राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसर पारेर छापामार शैलीमा सालिक ठड्याएको थियो।
यति सजिलै वीरेन्द्र चोकमा कसैले राजाको सालिक ठड्याउला भनेर कसैले कल्पना नै गरेका थिएनन् । २०६२र०६३ को जनआन्दोलन हुँदा सालिक भत्काइएको थियो। १४ वर्षपछि त्यहाँ पुनः राजाको सालिक ठडिएपछि सालिकसँगै तस्वीर खिचाउनेहरुको भिड लाग्यो। त्यो क्रम बुधबार साँझसम्म पनि चलिरह्यो ।
तस्वीर खिचाउनेहरु राजावादीमात्र थिएनन्। त्यहाँ पत्रकारदेखि गणतन्त्रवादी समेतले तस्वीर खिच्दै सामाजिक सञ्जालमा पोष्ट्याउन भ्याए।
बुधबार दिनभर वीरेन्द्र चोकको वातावरण हेर्दा मुलुकमा राजतन्त्र नै छ कि जस्तो लाग्थ्यो । किनकि वातावरण नै राजामय थियो । लाग्थ्यो– त्यहाँ राजाको सालिक होइन, स्वयम् राजा वीरेन्द्र उभिएका छन् र उनको दर्शन गर्नेहरु लामबद्ध छन् ।
चोकको दायाँ छेउमा प्रहरी बिट छ । तर, सालिक ठड्याउँदै गर्दा सुरक्षा निकाय भने सुरक्षा दिएर बसेजस्तो गरिरहेको थियो । यतिमात्र होइन, बुधबार साँझतिर प्रहरीको एउटा गाडीनै चोकको एक छेउमा राखिएको थियो भने केही प्रहरीले सालिकसँग तस्वीर खिचाउनेहरुलाई सुरक्षा दिइरहेका देखिन्थे ।
स्वतन्त्र सुर्खेतीवासी जनता समूहका सदस्य धर्म ढकालले वीरेन्द्र चोकको इतिहास बचाईराख्नका लागि राजाको सालिक अनिवार्य भएकाले राखिएको बताए । उनले भने, ‘यो कुनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको हो । राजाको इतिहास चिनाउनका लागि आवश्यक थियो । हाम्रो इतिहास के हो भन्ने बुझ्नुपर्छ ।’
उनले यो सालिक राख्न निकै ठुलो बलिदानी गरिएको समेत दाबी गरे । उनले वीरेन्द्रनगरमा राजा वीरेन्द्रको देन भएकाले नै सालिक राखिएको बताए । उनका अनुसार राखिएको सालिक पोखराबाट आएका योगी बलभद्रनाथ गिरीले ल्याएका थिए ।
उनले भने, ‘वीरेन्द्र चोक भनिन्छ, यहाँ सालिक त नगरपालिकाले राख्नुपर्ने हो । तर उल्टो नाम बदल्ने कदमहरु चालिए ।’
लामो समयदेखि राजाको सालिक राख्ने विषयलाई लिएर विवाद भइरहेको थियो । ०७५ जेठ महिनामा वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रको सालिक रहेको स्थानमा ‘पानीको फोहोरा’ राख्ने गरी सुरक्षा निकायको रोहबरमै राति डोजर लगाएको थियो । क्षति पु¥याएको जिर्ण वीरेन्द्रको सालिकले नगरको शोभा बिगारेको र त्यो ठाउँलाई आकर्षक बनाउने भन्दै योजना अघि सारियो ।
पुनर्निर्माण भएको लामो समयसम्म यहाँ राजाको सालिक राख्ने वा नराख्ने विषयमा विवाद भइरहेको थियो । अचानक सालिक ठडिएपछि स्थानीय प्रशासन, स्थानीय सरकार र राजनीतिक दलहरु सशंकित बनेका छन् ।
राप्रपा सुर्खेत जिल्ला नेतृ सन्तोषी शाहीले सालिक राख्ने विषयमा पार्टीलाई पूर्व जानकारी नभएको बताइन् । सालिक राखेपछि भने आफूले त्यहाँ गएर तस्वीर खिचेको र साँझपख आफ्नो पार्टीले दीप प्रज्ज्वलनसमेत गरेको बताइन् ।
प्रदेश राजधानीको मुटुमा रहेको यो चोकको विषयमा विगत लामो समयदेखि राजतन्त्रवादी र गणतन्त्रवादी दलहरुबीच निकै संघर्ष चलिरहेको थियो। यो समाचार रातोपाटीमा प्रकाशित छ।