नेपालगञ्ज। बाँकेको नेपालगञ्जमा अवस्थित भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका चारजनाको मृत्यु भएको छ। उनीहरुको गएराती मृत्यु भएको हो।
अस्पतालको स्टोर शाखामा कार्यरत कालिकोट जिल्लाको खडाचक्र नगरपालिका-६ निवासी २३ वर्षीय धनप्रसाद भट्टराईसहित उनका छोरा, आमा र दिदीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
धनप्रसादसँगै उनका तीन महिने छोरा इप्सन, ४५ वर्षीया आमा कोकिला र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो। यस्तै उनकी २४ वर्षीया श्रीमति सुशिला, तीन वर्षीय छोरा विवश र १८ वर्षिय भाइ नरेन्द्रको अवस्था गम्भीर छ। उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे बिहान मात्रै थाहा भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। त्यहाँ टिनमा कोइला बालेको देखिएको छ। सबै झ्याल ढोका बन्द गरेर सुतेका कारण धुवाँले निसासिएर उनीहरूको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनप्रसाद विगत तीन वर्षदेखि भेरी अस्पतालको स्टोर शाखामा कार्यरत रहेको बताइएको छ। परिवारका अन्य सदस्यहरु भेटघाटका लागि कालिकोटबाट आएको बेला घटनामा एउटै परिवार परेको हुनसक्ने अनुमान गरिएको छ।