एकीकृत समाजवादी र नेकपा (जनवादी) बीच एकता



काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको बताएका छन्।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी ‘जनवादी’ बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि व्यक्तिको निरंकुशताको खतरा रहेको बताए।

वंश विशेषको निरंकुशतालाई राजतन्त्र अन्त्यसँगै समाप्त पारिएको भए पनि अहिलेको व्यवस्थामा व्यक्ति विशेषको निरंकुशता देखिएको भन्दै उनले यसका विरुद्ध संघर्षको खाँचो औंल्याए।

‘व्यक्तिको निरंकुशता विचार र पार्टीको भयाङ चढेर माथि चढ्ने र स्वार्थको सागर बनाउने रहेछ, उनले भने, ‘जनतमतबाट हिटलर आएका होइनन् ? समाजवादकै झण्डा बोकेका थिए त उनले। उनको पतन भयो। अरुको त के हैसियत छ र?’

त्यस्तै नेकपा (जनवादी) का अध्यक्ष डिएस महताले समाजववादी आन्दोलनलाई नयाँ उचाई दिनुपर्ने बताए। उनले भने, ‘जनता र देशको रक्षार्थ हाम्रो पार्टीले काम गर्नेछ। त्यसका लागि माधव नेपालले नेतृत्व गर्नु हुनेछ। केन्द्रदेखि स्थानीय तहसम्मका साथीहरुले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर मोर्चालाई अघि बढ्नुपर्छ।’

तस्बिर: मुकुन्द कालिकोटे