समाजवादबारे बहुपक्षिय बहस हुनुपर्छ: अध्यक्ष नेपाल



काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन्।

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताए।

नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरुबीच छलफल गर्न जरुरी रहेको उनले औँल्याए। नेपालको राजनीतिक इतिहासमा दलहरू एकताबद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए। राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए।

देशमा नागरिकको अधिकार ठूलो हुने र पार्टीमा कार्यकर्ताको अधिकार ठुलो हुने उनको भनाइ छ। उनले भने, ‘राष्ट्रियताको सवालमा हामीबीच विमति हुनुपर्ने कारण छैन।’ नेपाली समाजमा विभेद, असमानता, विभेद, अन्याय, अत्याचार विद्यमान रहेको उल्लेख गर्दै उनले यसलाई समाप्त पार्ने कुरामा दलहरू केन्द्रित हुनुपर्ने बताए।

समाजवादमा जाने लक्ष्य निर्धारण भइसकेका कारण अब नेपाली विशेषताको समाजवाद कस्तो हुनेछ भनेर नेता, पार्टीहरू, वुद्धिजिवीहरुको बीचमा बहस हुन जरुरी रहेको उनले बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो छलफल र बहस आयोजना गर्न सुझावसमेत दिए।