माओवादी एकताका लागि सीपी गजुरेलले राखे चार सर्त



काठमाडौँ। नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादी र कम्युनिष्ट पार्टीहरूबीच एकताको खाँचो रहेको बताएका छन्।

उनले पुराना माओवादीहरू एकजुट हुनुपर्छ, एकताबद्ध हुनुपर्छ भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको भन्दै त्यसका लागि आफूहरू समेत सकारात्मक रहेको बताए।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता गजुरेलले त्यसका लागि महाधिवेशनले महत्वपूर्ण चार निर्णयहरू लिनुपर्ने सर्त राखे।

‘नेपालका सबै माओवादी र कम्युनिष्टहरू एकताबद्ध हुनुपर्छ भन्ने कुरामा हामी सकारात्मक छौं, यदि साँच्चै नै पूर्वमाओवादीहरू एकताबद्ध हुने हो भने केही आधारहरू तयार गरौं, म सुझावको रुपमा यहाँ केही कुराहरू राख्न चाहन्छु, तपाईंहरूको महाधिवेशनमा यो कुरा उठोस्,’ उनले भने ।

नेता गजुरेलले महाधिवेशनले जनयुद्व सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकको निर्णय पुनस्स्थापित गर्नुपर्ने बताए। ‘हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, अझै पनि त्यो अपुरो र अधुरो छ, नेपाललाई जनगणतन्त्र बनाउनका लागि तुरुन्तै अघि बढौं, यो महाधिवेशनले त्यो विषय पारित गरोस्,’ गजुरेलले अघि भने, ‘राष्ट्रिय स्वाधिनताका केही विषयहरू पनि तपाईंहरूले निर्णय लिनुभयो भने राम्रो हुन्छ। अहिले चर्चामा रहेको राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गरौं।’

उनले नेपालले गुमाएका भूभागहरू नक्सामा पाए पनि वास्तविकतामा नपाएको भन्दै त्यसका लागि पनि पार्टीले निर्णय लिनुपर्ने बताए। ‘हामीले गुमाएका नेपाली भूभागहरु नक्सामा त पायौं, तर वास्तविक रुपमा त्यो फिर्ता भएको छैन । नेपालले गुमाएका सबै भूभागहरू फिर्ता गर्नका लागि तपाईंहरूले निर्णय गर्नुहोस्,’ गजुरेलले भने, ‘यति निर्णयहरू तपाईंहरूले यो महाधिवेशनबाट गर्नुभयो भने हामीबीच पार्टी एकताका लागि बहस गर्ने ढोका खुल्नेछन्।’

एकताका लागि गजुरेलले राखेका चार सर्त:

  • महाधिवेशनले जनयुद्व सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकले पारित गरेका निर्णय पुनस्थापित गर्नुपर्ने।
  • जुन लक्ष्य राखेर जनयुद्ध गरिएको थियो। अझै पनि त्यो अपुरो र अधुरो छ, नेपाललाई जनगणतन्त्र बनाउनका लागि तुरुन्तै अघि बढौं।
  • राष्ट्रिय स्वाधिनताका केही विषय पनि तपाईँहरूले निर्णय लिनुभयो भने राम्रो हुन्छ। अहिले चर्चामा रहेको राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गरौं।
  • नेपालले गुमाएका भूभाग नक्सामा पाए पनि वास्तविकतामा पाइएको छैन। यसका पनि पार्टीले निर्णय गरोस्।

यदी यी निर्णय माओवादी केन्द्रले यस महाधिवेशनबाट पारित गरेको खण्डमा पार्टी एकताका लागि बहस गर्ने ढोका खुला हुने पनि उनले बताएका थिए।