बेबी डाइनासोर अण्डाभित्र पूर्ण सुरक्षित अवस्थामा फेला



बच्चा डाइनासोरको असाधारण अवशेष अण्डाभित्र घुम्रिएर बसेको विषयले डाइनासोर र चराबीचको सम्बन्धलाई अझै बलियो बनाएको छ। ७ करोड वर्ष पुरानो अवशेषमा विकास भएको कंकाल ओभिराप्टोरिड प्रजातिको डाइनासोरको रहेको सीएनएनले जनाएको छ।

यसको उपनाम बेबी इङलियाङ राखिएको छ। यो नाम अवशेष सुरक्षित राख्ने चिनियाँ सङ्ग्रहालयको नामबाट राखिएको हो। बेबी डाइनोसोरको हड्डी स–साना र धरमराउँदो अवस्थामा छन् । यसलाई दुर्लभ रुपमा मात्रै सुरक्षित राख्ने गरिएको छ। यसलाई अत्यन्त भाग्यपूर्ण उपलब्धी मानिएको क्यानडास्थित युनिभर्सिटी अफ कालगेरीका एसोसियट प्रोफेसर डारला जेलेनिट्स्कीले बताएकी छन्।

‘यो अत्यन्त विशिष्टतम विषय हो। म डाइनासोरको अण्डाको विषयमा २५ वर्षदेखि काम गर्दै आएको छु र यो जस्तै अन्य पनि फेला पर्न अझै बाँकी नै छ,”जेलेनिट्स्कीले बताइन्। उनी जर्नल आईसाइन्सका सह–लेखक पनि हुन्। ‘हालसम्मको अवधिमा डाइनोसोरसको अण्डाबाट चल्ला निक्लनुुपूर्व के भइरहेको थियो भन्ने विषयमा थोरै मात्र जानकारीमा आएको छ। किनकी हालसम्म थोरै मात्र कंकाल फेला परेका छन्,’ उनले ईमेलबाट जानकारी गराइन्।

यो अण्डा १७ सेन्टिमिटरको हाराहारीमा लामो रहेको छ र टाउकोदेखि पुच्छर सम्म डाइनासोर अनुमानित २७ सेन्टिमिटरको छ । वयस्कको अवस्थासम्म बाँचेको भए यो २ देखि ३ मिटरसम्म लामो हुने अन्वेषकहरुले अनुमान गरेका छन् ।

डाइनासोर पुनः फेला

चीन, यूके र क्यानडाका अनुुसन्धानकर्मीले गरेको अध्ययन अनुसार डाइनासोरले बच्चा कोरल्नुपूर्व उनीहरु चरा झैं यताउता चलमलाउने र आफ्नो स्थानमा परिवर्तन गर्ने गरेको निचोड निकालेका छन् । आधुनिक चराहरुमा यस खालको गतिविधिलाई ‘टकिङ’ भनिन्छ । यी गतिविधि केन्द्रीय स्नायु प्रणालीले नियन्त्रण गर्ने र कोरल्ने काममा अति नै प्रभावकारी हुने बताइएको छ ।

‘डाइनासोरको अण्डामा सुरक्षित रहेको भ्रुण देख्न पाउँदा हामी खुसी भएका छौँ । यो चरा जस्तैगरी पल्टिरहेको थियो । नउड्ने डाइनासोरमा यस खालको अवस्था पहिले देखिएको थिएन,’ अध्ययनका प्रमुख लेखक तथा बेलायतको बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ता वेसम माले एक बयानमा भने ।